Logo

समाचार

निर्वाचन ६ दिन बाँकी, आचारसंहिता पालना गराउन ७७ वटै जिल्ला प्रशासनलाई गृहको निर्देशन



काठमाडौं — निर्वाचन नजिकिँदै गर्दा गृह मन्त्रालयले निर्वाचन आयोगको सिफारिसमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई आचारसंहिता पूर्ण पालना गराउन निर्देशन दिएको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ ले निषेध गरेका कार्य हुन नदिन तथा उल्लंघन भएमा तत्काल कानुनबमोजिम कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ।

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन– एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध सञ्चालन हुनेछन्।

दूरसञ्चार मर्मत, कूटनीतिक नियोग र पास प्राप्त सवारीसाधनलाई पनि अनुमति रहनेछ। सार्वजनिक तथा निजी सवारी भने फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइने आयोगले जनाएको छ।

अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् रहनेछन्। टिकट भएका यात्रुलाई विमानस्थल–घर वा होटल आवतजावतका लागि सहजीकरण गरिने जनाइएको छ।

मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रसहित राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्नेछन्।

मतदानका दिन सवारी पास वितरणका लागि आयोग परिसरमा छुट्टै एकाइ स्थापना गरिने पनि जनाइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ०७:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।