सर्लाही। सर्लाही जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या भएको घटनामा स्थायी नियुक्तिको अवसर हासिल गर्ने लोभमा योजनाबद्ध हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले मुख्य योजनाकार वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
सिरहा सुखीपुर नगरपालिका–९ का स्थायी बासिन्दा तथा हाल सर्लाही मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ करिब ७:५५ बजे फोन गरेर डेराबाट बाहिर बोलाएको थियो ।
बाहिर निस्किएलगत्तै छातीमा गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले उनलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको थियो । पोस्टमार्टम प्रतिवेदनअनुसार छातीमा लागेको गोली नै मृत्युको कारण रहेको छ ।
सुक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण, इन्टेलिजेन्स परिचालन तथा मृतकका परिवार, नातेदार र सहकर्मीहरूसँगको सोधपुछबाट घटनाको योजनाकार महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ३४ वर्षीय गणेश कुमार महतो रहेको खुलेको छ । उनी सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए ।
महतोले आफूलाई ‘राकेश यादव’ नामबाट चिनाउँदै मृतकसँग सम्पर्क बढाएका थिए । कामको सिलसिलामा फोन सम्पर्क गर्ने क्रममा वास्तविक परिचय लुकाएका थिए ।
घटनामा बसबरीया गाउँपालिका–२ मानपुरका २२ वर्षीय चन्द्र किशोर सिंह कुशवाहा (महतोका साला नाता पर्ने) पनि संलग्न रहेको खुलेको छ । दुवै जना भारतीय नम्बर प्लेट बिआर ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकलमा बरहथवाबाट मलंगवा पुगेका थिए ।
गोली प्रहारपछि सोही मोटरसाइकलमा भागेर रौतहट गढीमाई नगरपालिका–५ बलुवास्थित बागमती नदीको बाँधछेउ मोटरसाइकल छाडेर फरार भएका थिए । मोटरसाइकल भोलिपल्ट बेवारिसे अवस्थामा फेला परेको थियो ।
महतोका भाइ २२ वर्षीय विजय कुमार महतोको पनि संलग्नता खुलेको छ । दशैंअघि नै गणेशले विजयलाई ८० हजार रुपैयाँ दिएर हतियार खरिद गर्न लगाएका थिए ।
तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदसम्म सजाय हुन सक्छ भने इजाजतपत्रबिना हातहतियार कारोबार गरेमा सात वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ ।
प्रहरीले घटनालाई पूर्वयोजनाबद्ध आपराधिक षड्यन्त्रका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया