डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको संघारमा डडेलधुराको राजनीतिक समीकरणमा निकै ठूलो फेरबदल आएको छ। नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरको विकासवादी ‘ब्लुप्रिन्ट’ र ३५ वर्षे निष्कलंक छविबाट प्रभावित भई विभिन्न बामपंथी दलका ५०० भन्दा बढी संगठित कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा आयोजित विभिन्न पार्टी प्रवेश कार्यक्रमहरूले विपक्षीको ‘अभेद्य किल्ला’ मानिने क्षेत्रहरूमा समेत कांग्रेसको वर्चस्व बढाएको छ।
पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने कार्यकर्ताहरूले महरले अघि सारेको डडेलधुरालाई सुदूरपश्चिमको ‘रणनीतिक ट्रान्जिट’ बनाउने योजना र भौतिक पूर्वाधारको स्पष्ट खाका नै मुख्य आकर्षण रहेको बताएका छन्।
विशेषगरी भीमदत्त राजमार्ग विस्तार, अत्तरिया-डडेलधुरा खण्डलाई स्तरीय चार लेनको बनाउने योजना, अन्तरदेशीय व्यापारका लागि महाकाली नदीमा पक्की पुल निर्माण गरी भारतको टनकपुरसँग सीधा व्यापारिक पहुँच जोड्ने प्रतिबद्धता, स्वास्थ्य क्रान्तिका लागि डडेलधुरा मेडिकल कलेजको पूर्ण सञ्चालन र अस्पतालमा २५ शैयाको ट्रमा सेन्टर स्थापनालगायतका मागले आफूहरू प्रभावित भएको नवप्रवेशीहरूको प्रतिक्रिया छ।
राजनीतिमा देखिएको अपारदर्शिता र भ्रष्टाचारका कारण युवा पुस्तामा देखिएको असन्तुष्टि (जेन-जी विद्रोह)लाई सम्बोधन गर्दै महरले अघि सारेको ‘सदाचारपूर्ण सार्वजनिक जीवन’ को संकल्पले युवा कार्यकर्ताहरूलाई ठूलो ऊर्जा प्रदान गरेको छ। महरले आफ्नो चुनावी प्रतिबद्धतामा ‘ सार्वजनिक जीवन ऐना झैँ प्रष्ट’ हुनुपर्ने र विधायकको रूपमा सुशासनका लागि नीतिगत हस्तक्षेप गर्ने दृढता व्यक्त गरेका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार महरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले खडा गरेको विकासको जगलाई थप उचाइमा पुर्याउनु नै आफ्नो प्रमुख दायित्व भएको बताएका छन्। उनले गन्यापधुरादेखि परशुरामसम्मको भूगोललाई समेट्दै डडेलधुरालाई अवसरहरूको केन्द्र बनाउने र कसैको शीर झुक्न नदिने बाचा दोहोर्याएका छन्।
डडेलधुरामा देखिएको यो जनलहरले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’को पक्षमा भारी मत खस्ने र नैनसिंह महरको विजय सुनिश्चित हुने स्थानीय राजनीतिक विश्लेषकहरूको दाबी छ।





















प्रतिक्रिया