काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष भीम मल्ल ठकुरीले यूएईमा रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार र सचेत रहन आग्रह गरेका छन् ।
युएईको साइबर कानुन कडा रहेको उल्लेख गर्दै उनले सानो लापरबाहीले कानुनी कारबाही, जरिवाना तथा देश निकालासम्मको गम्भीर सजाय हुन सक्ने भन्दै सचेत गराएका हुन् ।
आफ्नो फेसबुकमार्फत एक सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष ठकुरीले अनुमति बिना खिचिएका भिडियो/फोटो, अप्रमाणित समाचार, अफवाहजन्य सामग्री वा दुर्घटना, झगडा जस्ता संवेदनशील दृश्यहरू सेयर नगर्न अनुरोध गरेका छन्।
‘हामी सबै परदेशमा श्रम, व्यवसाय र भविष्यका सपनाका लागि बसेका छौँ । एक क्षणको लापरबाहीले हाम्रो रोजगारी, भिसा र भविष्य नै जोखिममा पर्न सक्छ,’ उनले भनेका छन् ।
युएईको कानुनको पूर्ण पालना गर्दै आफ्नो र समुदायको भविष्य सुरक्षित गर्न सबैलाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न उनले अनुरोध गरेका छन् ।





















प्रतिक्रिया