काठमाडौं। निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।
आयोगको स्वीकृत कार्यक्रमअनुसार फागुन ३ देखि सुरु भएको मतदाता शिक्षा देशभरका ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो।
हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो।
निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमानदार स्वयंसेवकका कारण यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताइन्।
उनले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गरिन्।
मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को आम निर्वाचनदेखि जिम्मा दिन थालिएको थियो।
यसपटक पनि यस प्रयोजनका लागि उनीहरुहरुलाई नै जिम्मेवारी दिइएको थियो।
मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो।
मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने जनाइएको छ।





















प्रतिक्रिया