Logo

निर्वाचन

निर्वाचन ऐतिहासिक र भयरहित हुने राष्ट्रिय पर्यवेक्षकहरूको निष्कर्ष



काठमाडाैँ । राष्ट्रिय पर्यवेक्षकहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण, भयरहित र मर्यादित हुने निष्कर्ष निकालेका छन्।

निर्वाचन प्रचारप्रसारका क्रममा कुनैपनि ठुला झडप वा आचारसंहिताको गम्भीर उल्लङ्घन नभएको र उम्मेदवारहरू स्वयं अनुशासित देखिएकाले मतदान स्वच्छ र ऐतिहासिक हुने उनीहरूको विश्वास छ।

नेपाल कानून समाज र आम निर्वाचन पर्यवेक्षण समिति (जिओक)ले देशभरका निर्वाचन क्षेत्रहरुमा गरेको अनुगमन र अवलोकनपछि बोल्दै पर्यवेक्षकहरुले मतदाताहरू सचेत रहेको र निर्वाचन आयोगको तयारी सन्तोषजनक रहेको समेत उल्लेख गरेका छन्।

निर्वाचन पूर्वतयारी र प्रचारप्रसारको समग्र अवधिलाई सुक्ष्म रूपमा नियाल्दा राजनीतिक दल र उम्मेदवारहरूबिच कुनैपनि किसिमको भौतिक झडप वा गम्भीर विवाद नदेखिनुलाई पर्यवेक्षकहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।

उम्मेदवारहरू स्वयंले उच्च राजनीतिक संस्कार र अनुशासन प्रदर्शन गरेको, निर्वाचन आचारसंहिताको पालनामा ‘पेपरलेस’ अभियानलाई प्राथमिकता दिएको र सानातिना प्राविधिक त्रुटिहरूलाई पनि डिजिटल माध्यम (ह्वाट्सएप) बाट प्राप्त जानकारीका आधारमा तत्कालै सच्याउने तत्परता देखाएको पाइएको पर्यवेक्षकहरुको भनाइ छ ।

लुम्बिनी प्रदेशको रुपन्देही लगायतका जिल्लाहरूमा गरिएको स्थलगत अवलोकनका क्रममा मतदाताहरूमा कुनैपनि किसिमको भय वा त्रास नदेखिएको र उनीहरू आफ्नो दैनिक दिनचर्याका साथै निर्वाचन प्रक्रियामा सचेततापूर्वक सहभागी भइरहेको देखिएको छ ।

निर्वाचन आयोगको व्यवस्थापन र मौन अवधिको शुरुवातसम्मको शान्त अवस्थाले यस पटकको मतदान स्वच्छ, धाँधलीरहित र ऐतिहासिक रूपमा सफल हुने बलियो आधार निर्माण गरेको भएपनि निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै मतदान सम्पन्न नहुँदासम्म सरोकारवाला निकायहरूलाई पूर्ण सजग रहन पर्यवेक्षकहरूले आग्रह गरेका छन् ।वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय पर्यवेक्षक परशुराम कोईरालाले यस पटकको निर्वाचन मतदातामैत्री र भयरहित तरिकाले अगाडि बढेको बताउनु भयो । उहाँकाअनुसार राजनीतिक दलका उम्मेदवारहरूले आफूलाई अनुशासनमा राखेका कारण प्रचारप्रसारका क्रममा कुनै झडपका घटनाहरू भएका छैनन् ।

आचारसंहिता उल्लङ्घनका सन्दर्भमा पनि कुनै गम्भीर लिखित उजुरी नदेखिएको उनको भनाइ छ । सामान्य कुराहरू ह्वाट्सएपमार्फत जानकारी गराउँदा उम्मेदवारहरूले आफैँ सुधार गरेको उनले उल्लेख गरे ।

बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारको शैली र उम्मेदवारहरूको अनुशासनले नेपाली लोकतन्त्र परिपक्व बन्दै गएको सङ्केत गरेको पर्यवेक्षकहरूको ठम्याइ छ ।

मौन अवधिको यो शान्त वातावरण मतदान नसकिँदासम्म कायम रहेमा यस पटकको निर्वाचन नेपालको इतिहासमै सबैभन्दा स्वच्छ र नमूना योग्य हुने विश्वास पर्यवेक्षकहरुले गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार २०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।