Logo

प्रमुख समाचार

जब महिला अघि बढ्छन्, राष्ट्रले उडान भर्छ: न्यायाधीश सपना प्रधान मल्ल



काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले नेपाली समाजमा महिला र पुरुषबीच सामाजिक, कानुनी, राजनीतिक तथा आर्थिक क्षेत्रमा अझै ठूलो असमानता रहेको बताएकी छन् ।

११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले महिला दिवस मनाउनुपर्ने बाध्यता अझै कायम रहेको बताइन् ।

उनले भनिन्, ‘महिला दिवस मनाउन नपरेको भए हुन्थ्यो जस्तो लाग्छ, तर अझै बाध्यता र आवश्यकता छ । किनभने नेपाली समाजमा सामाजिक, कानुनी, राजनीतिक र आर्थिक क्षेत्रमा महिला–पुरुषबीच ठूलो खाडल छ । त्यो खाडललाई पुर्ति गर्न सबैलाई झकझक्याउन आवश्यक छ ।’

न्यायाधीश मल्लले महिलामाथि हुने अन्याय अझै गहिरो रहेको उल्लेख गर्दै महिलाले केवल महिला भएकै कारण पनि विभिन्न प्रकारका अन्यायको सामना गर्नुपरेको बताइन् ।

उनले न्याय सुनिश्चित गर्न राज्यका सबै निकाय उत्तरदायी हुनुपर्ने बताइन् । ‘अन्यायका धेरै कथा हामीले सुनेका छौँ, अन्याय गहिरो छ । न्यायको सुनिश्चितता गर्न सबैलाई उत्तरदायी बनाउनु आवश्यक छ । स्थानीय निकायदेखि हामी स्वयं पनि जिम्मेवार बन्नुपर्छ,’ उनले भनिन् ।

उनले भविष्यमा महिला दिवस मनाउनै नपर्ने अवस्था सिर्जना हुने दिन आउने अपेक्षा पनि व्यक्त गरिन् । त्यसैगरी महिलालाई अवसर दिँदा समाजलाई सकारात्मक लाभ पुग्ने उनको भनाइ थियो । ‘जब महिलालाई अवसर दिइन्छ, त्यसले समाजलाई गुणा दिन्छ । जब महिला अघि बढ्छन्, राष्ट्रले उडान भर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १२:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।