Logo

राजनीति

ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने- ‘यो सिंगो ललितपुरको जित हो’



ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले यो जित ललितपुर–२ मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताए ।

खरेलले भने, ‘सम्पूर्ण जनताहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यो जित ललितपुर क्षेत्र नम्बर २ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्रै जितका रूपमा होइन ।’

उनले अब देश निर्माण र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । खरेलले पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएका बालेन शाहको नेतृत्वमा देशलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने अभियान जारी रहने बताए ।

उनले भने, ‘अब हामीले देश बनाउनुपर्छ । यो अभियानमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हामी सम्पूर्ण रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी, देश र जनता अब विकास र समृद्धिको बाटोमा अगाडि बढेका छौं । यसमा साथ दिनु भएकोमा सम्पूर्णमा धन्यवाद छ ।’

उनले निर्वाचनमा साथ र समर्थन गर्ने सम्पूर्ण मतदाताप्रति पुनः धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १४:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।