म्याग्दी — सामाजिक अभियन्ता महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पराजित गर्दै २२ हजार ८५० मतसहित विजय हासिल गरेका हुन्।
अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मिएका ७१ वर्षीय पुन सूचना प्रविधि, शिक्षा र ग्रामीण विकासका क्षेत्रमा योगदानका लागि परिचित छन्।
अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले म्याग्दीका ग्रामीण विद्यालयमा कम्प्युटर शिक्षा र ताररहित इन्टरनेट सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए।
ग्रामीण क्षेत्रमा सूचना प्रविधि विकासमा योगदान गरेबापत उनले सन् २००७ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।
उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने अभियान पनि सञ्चालन गर्दै आएका छन्।
सामान्य शैलीमा चुनाव प्रचार गरेका पुनले सामाजिक सञ्जाल र मतदातासँग प्रत्यक्ष संवादमार्फत अभियान चलाएका थिए।
प्रतिनिधिसभामा दलविहीन सांसदका रूपमा पुगेका उनले शिक्षा तथा प्राविधिक क्षेत्रमा सुधारका लागि नीति निर्माणमा पहल गर्ने बताएका छन्।





















प्रतिक्रिया