Logo

राजनीति

चुनावी धक्कापछि कांग्रेसभित्र नेतृत्वमाथि प्रश्नैप्रश्न, गगन थापाले देलान् त राजीनामा



काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजाले नेपाली कांग्रेसलाई ठूलो झट्का दिएको छ।

नतिजाअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जित्दै कुल ३८ सांसदसहित प्रतिनिधि सभामा सीमित हुने देखिएको छ, जसले संसदमा पार्टीको उपस्थितिलाई इतिहासकै कमजोर बनाउने संकेत गरेको छ।

निर्वाचनअघि ‘अबकी बार सय पार’ को नारा दिएर चुनावमा होमिएको कांग्रेस अपेक्षाभन्दा निकै कमजोर नतिजामा पुगेपछि पार्टीभित्र नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ। जेन–जेड आन्दोलनपछि विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएको चर्चा पनि सुरु भएको छ।

स्रोतका अनुसार फागुन २५ गते उपसभापति विश्व प्रकाश शर्मा सँगको भेटमा थापाले चुनावी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै राजीनामा दिने मनस्थिति व्यक्त गरेका थिए। तर शर्माले चुनावी पराजयको जिम्मा सभापतिमाथि मात्र नथोपर्न आग्रह गर्दै तत्काल राजीनामा नदिन र पहिला पार्टीभित्र विस्तृत समीक्षा गर्नुपर्ने सुझाव दिएका थिए।

कांग्रेसले अब चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाएर निर्वाचन परिणामको समीक्षा गर्ने तयारी गरेको जनाएको छ। सो बैठकपछि मात्रै नेतृत्वबारे के निर्णय हुन्छ भन्ने स्पष्ट हुने कांग्रेसका केहि नेताहरू बताउँछन्।

यसबीच सभापति थापा स्वयं पनि सर्लाही–४ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमारसँग पराजित भएका हुन्। चुनावी नतिजापछि कांग्रेसभित्र नेतृत्वको भूमिकाबारे बहस झन् तीव्र बनेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १७:१५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।