Logo

राजनीति

रास्वपाका दुई सांसदविरुद्ध सर्वोच्चमा रिट, विजय घोषणा र प्रमाणपत्र बदर गर्न माग



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो।

सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा एमालेकै उम्मेदवार अम्बरबहादुर रायमाझीले उनीहरूलाई निर्वाचित घोषणा गर्ने आयोगको निर्णय बदर गरी आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्।

उनीहरू दुवै उम्मेदवारले वारेस युवराज पौडेल (सफल) मार्फत् रिट दायर गरेका हुन्।

रास्वपाका यी दुवै सांसद उम्मेदवार हुँदा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको र उम्मेदवार बन्न नै अयोग्य रहेकाले उनीहरूलाई निर्वाचित घोषणा गर्न नमिल्ने उनीहरूको दाबी छ।

उनीहरूले निर्वाचन आयोगलाई समेत छलछाम गरेर आफू कालो सूचीमा हुँदाहुँदै अवैध रुपमा उम्मेदवार बनेको निवेदनमा जिकिर गरिएको छ। उनीहरूको उम्मेदवारी नै बदर हुने भएकाले दोस्रो बढि मत ल्याउने यी दुवै निवेदकले आफूलाई सांसदमा निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्।

निर्वाचन आयोगले यसअघि गरेको घोषणा र प्रमाण पत्र पनि बदर गर्न उनीहरूको माग छ। उनीहरूको शपथ रोक्न पनि निवेदकले अन्तरिम आदेश माग गरेका छन्। यी दुवै रिटमा चैत २५ गतेलाई पेसी तोकिएको छ।

यसअघि धनुषा क्षेत्र नं १ का रास्वपाकै किसोरी साह पनि कर्जा सूचना केन्द्रको कालो सूचीमै रहेका कारण उम्मेद्वारी बदर भएको थियो।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १९:३२   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।