पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले अब कास्की जिल्ला अदालतमा नियमित तारिख धाउन नपर्ने भएको छ ।
मंगलबार जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले नियमित तारिख धाउन नपर्ने आदेश दिएको हो । आइतबार लामिछानेले तारिख बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने माग राखेर अदालतमा निवेदन दिएका थिए ।
सोही अनुसार मंगलबारको इजलासले उनको माग बमोजिमको आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले जानकारी दिए ।
उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । ‘मुद्दाको रोहमा अन्य केही प्रमाण बुझ्न पर्ने आवश्यकता महसुस भएर अदालतले बोलाउँदा खेरी आउने गरी अदालतले नियमित तारेखमा आउन नपर्ने सुविधा दिएको छ,’ किसानले अघि थपे, ‘अरू मुद्दा चाहिँ कारबाहीकै क्रममा छ, त्यही अवस्थामा छ ।’
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा रविसहित ६३ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो ।
त्यसमध्ये ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ रविको भागमा पर्ने गरी बिगो दाबी गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
अघिल्लो पुसमा धरौटीमा छुटे पनि लामिछाने कास्की अदालतमा हरेक महिना पेसी बुझ्न आइरहेका थिए । उनी अन्तिम पटक माघ २९ गते जिल्ला अदालतमा तारेखमा आएका थिए।





















प्रतिक्रिया