काठमाडौं । १३ दिनपछि हिरासमुक्त भए पनि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार नभएका कारण अस्पतालमै रहने पारिवारिक स्रोतले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रिया गर्ने तयारी गरिएको छ । शल्यक्रियाबारे ओलीसँग छलफलपछि निर्णय लिइने ती चिकित्सकले बताए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले यथेष्ट कारण देखाउँदै लिखित पत्र दिनुपर्ने भनेपछि १४ चैतमा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका ओलीको स्वास्थ्यमा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले शिक्षण अस्पतालमै भर्ना गरेका थिए ।
ओलीको सुगर अस्वाभाविक बढेको र थाइराइडको पनि समस्या देखिएको थियो । पत्थरी समेत देखिएपछि चिकित्सकले शल्यक्रिया गर्दाका जोखिमबारे परामर्श गर्न समय लागेको थियो ।
ओलीलाई आजै पत्नी राधिका शाक्यको जिम्मा लगाएर प्रहरीले छाडे पनि अस्पतालले पनि डिस्चार्ज नदिने भएको छ ।





















प्रतिक्रिया