Logo

विविध

सर्लाहीको धन कौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोप



सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा निःशुल्क सञ्चालित एम्बुलेन्स सेवाप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् ।

आवश्यक परेको समयमा एम्बुलेन्स उपलब्ध नभएको र सेवामा लापरबाही भएको भन्दै सेवाग्राहीले गुनासो गरेका हुन् ।

मधेस प्रदेश ०७–००१ झा ०००५ नम्बरको एम्बुलेन्सका चालक जितेन साहमाथि मनोमानी गर्ने र गलत जानकारी दिने आरोप लागेको छ ।

केही दिनअघि एक स्थानीयले आफन्त बिरामी परेपछि एम्बुलेन्सका लागि चालक साहसँग सम्पर्क गरेका थिए । तर, उनले आफू एम्बुलेन्ससहित सदरमुकाम मलंगवा गएको जानकारी दिएका थिए ।

तर ती स्थानीय बिरामीलाई लिएर धनकौल बजार पुगेपछि सोही समयमा एम्बुलेन्स गाउँपालिकाको कार्यालय अगाडि नै रहेको देखिएको थियो ।

अन्य व्यक्तिसँग बुझ्दा पनि उक्त दिन एम्बुलेन्स कतै बाहिर नगएको पुष्टि भएको स्थानीयको भनाइ छ ।

ती स्थानीयका अनुसार त्यसपछि चालकसँग सम्पर्क गर्न खोज्दा उनले फोन नउठाएको र पछि एम्बुलेन्स रहेको स्थानमा पुगेपछि दुवै पक्षबिच विवादसमेत भएको बताइएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाईरल’ भइरहेको छ ।

घटनाबारे धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि ओम प्रसाद जयसवालले आफूलाई यसबारे जानकारी नभएको बताए ।

‘अहिलेसम्म कसैले औपचारिक रूपमा जानकारी गराएको छैन। अब यस विषयमा बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछौँ,’ उनले नेपाल न्यूज बैंकसँग भने ।

चालक साहसँग प्रतिक्रिया लिन खोज्दा उनले आफू व्यस्त रहेको भन्दै पछि कुरा गर्ने बताएका थिए । त्यसपछि पटक–पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।

स्थानीयले एम्बुलेन्स जस्तो संवेदनशील सेवामा लापरबाही हुनु गम्भीर विषय भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार ०७:३४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।