काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन शनिबार बिहानदेखि डोजर चलेको छ । बाक्लो प्रहरी सुरक्षा घेराबीच साढे ८ बजेदेखि सुरु भएको अभियानमा हालसम्म कुनै अवरोध वा ठूलो प्रदर्शन देखिएको छैन। शुक्रबार नाराबाजी गर्ने समूह शनिबार भने मौन देखिएको छ।
स्थानीय बासिन्दा भने आ–आफ्नो सामान बोकेर सुरक्षित स्थानतर्फ सरेका छन्। सामान हटाइएका क्षेत्रमा डोजरले संरचना भत्काउन थालेपछि थापाथली क्षेत्र तनावग्रस्त नभई नियन्त्रित अवस्थामा देखिएको छ।
सरकारले वास्तविक सुकुमबासीलाई तत्काल पाँच स्थानमा व्यवस्थापन गर्ने दाबी गरेको छ। तर प्रश्न उहीँ छ—वास्तविक सुकुमबासीको वर्षौंदेखि नदीकिनार ओगट्ने, राजनीतिक संरक्षणमा बसोबास गर्ने, अनि चुनावताका भोट बैंक बन्ने प्रवृत्तिले समस्या जटिल बनाएको हो।
जब डोजर चल्छ, नेताहरू मानवता सम्झिन्छन्। जब जमिन कब्जा हुन्छ, त्यही नेताहरू चुप लाग्छन्। नियमविपरीत अतिक्रमण हुँदा मौन बस्ने अनि कारबाही हुँदा आँसु बगाउने राजनीति अब पुरानो भइसक्यो।
थापाथलीको दृश्यले एउटा सन्देश दिएको छ—राज्यले चाहे कानून लागू गर्न सक्छ। तर कानून सबै ठाउँमा समान रूपमा लाग्नुपर्छ। थापाथलीमा डोजर चल्ने, तर अन्य शक्तिशाली अतिक्रमणकारीको दरबारमा मौन बस्ने हो भने यो न्याय होइन, चयनात्मक शक्ति प्रदर्शन मात्रै हुनेछ।




















प्रतिक्रिया