Logo

अर्थ

सञ्चालनमा आयो उद्योग मन्त्रालयको ‘ड्यासबोर्ड’



काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयअन्तर्गत हुने सेवा तथा दर्तासम्बन्धी विवरण सर्वसाधारणले सहजै हेर्न सक्ने गरी ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले सोमबारदेखि सञ्चालनमा ल्याएको उक्त ड्यासबोर्डमार्फत कम्पनी, उद्योग तथा फर्म दर्तासम्बन्धी विवरण रियल टाइममा अद्यावधिक हुने जनाएको छ।

यसअघि नेपालमा दर्ता भएका उद्योग, कम्पनी र फर्मको समग्र विवरण प्राप्त गर्न सर्वसाधारणलाई कठिन हुने गरेको थियो।

उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा सञ्चालनमा ल्याइएको ड्यासबोर्डले मन्त्रालयका सेवाबारे पारदर्शिता बढाउनुका साथै आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको मन्त्रालयको सचिवालयले जनाएको छ।

हाल ड्यासबोर्डमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणाली एकीकृत गरिएको छ।

सूचना प्रविधि प्रणालीमा आबद्ध नभएका अन्य निकायको विवरण पनि ‘डाइनामिक फर्म’मार्फत उपलब्ध गराउने व्यवस्था गरिएको सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार विभिन्न निकायका प्रणालीलाई एपीआईमार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा हुने उद्योग तथा व्यवसाय दर्तासम्बन्धी विवरणसमेत ड्यासबोर्डमा समावेश गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार २०:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।