सङ्खुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्ज ले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन खुला गर्ने भएको छ। निकुञ्ज कार्यालयले एक महिनासम्मका लागि यार्सागुम्बा संकलन अनुमति दिने जनाएको हो।
निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ देखि असार २५ गतेसम्म यार्सागुम्बा संकलन गर्न पाउनेछन्। निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सागुम्बा पाइने गरेको कार्यालयले जनाएको छ।
यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय भोटखोला–३, सेदुवा सेक्टर कार्यालय मकालु–२, गोला पोस्ट भोटखोला–४, ताम्कु सेक्टर कार्यालय सिलिचोङ–३, बुङ सेक्टर कार्यालय महाकुलुङ–१ तथा छेस्काम रेञ्जपोस्ट महाकुलुङ–३ मार्फत पुर्जी वितरणको व्यवस्था मिलाइएको छ।
निकुञ्जले संकलनमा जाने व्यक्तिलाई संकलन पुर्जी, प्राथमिक उपचार सामग्री, औषधि, खाना पकाउने ग्यास वा स्टोभ तथा बस्नका लागि त्रिपाल लैजान अनुमति दिएको छ।
तर विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर र ड्रमसेटजस्ता सामग्री लैजान प्रतिबन्ध लगाइएको सूचना अधिकारी सुवेदीले बताए।
मकालु वरुण राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मकालु, भोटखोला र सिलिचोङ गाउँपालिका तथा सोलुखुम्बुको महाकुलुङ क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ।
उच्च हिमाली भेगका स्थानीयका लागि यार्सागुम्बा मुख्य आम्दानीको स्रोत मानिन्छ। स्थानीयले यार्सागुम्बा बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च चलाउनेदेखि बालबालिकाको शिक्षासम्मको खर्च जुटाउने गरेका छन्।
निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयका लागि पाँच सय रुपैयाँ, मध्यवर्ती क्षेत्र बाहिरका सङ्खुवासभा र सोलुखुम्बु जिल्लावासीका लागि दुई हजार रुपैयाँ तथा अन्य जिल्लाका संकलकका लागि तीन हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको जनाएको छ।
निकुञ्जले विगतका वर्षमा यार्सागुम्बाबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको छ। व्यापारीका अनुसार गुणस्तरका आधारमा उत्कृष्ट यार्सागुम्बाको मूल्य प्रतिकेजी ४० लाख रुपैयाँसम्म पुग्ने भए पनि यहाँ संकलन हुने यार्सागुम्बा प्रतिकेजी पाँच लाख ५० हजारदेखि सात लाख ५० हजार रुपैयाँसम्ममा कारोबार हुने गरेको छ। संकलित यार्सागुम्बा मुख्य रूपमा चीनको तिब्बत र काठमाडौं बजारतर्फ निकासी हुने गरेको छ।
एक हजार ५ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बु जिल्लामा फैलिएको छ।




















प्रतिक्रिया