रसुवा ।नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी हुँदै चालु आर्थिक वर्षको हालसम्म ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन्।
रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार साउनदेखि हालसम्म उक्त मूल्यका सामग्री आयात भएका हुन्। यस नाकाबाट तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, जलविद्युत् आयोजनाका उपकरण तथा विद्युतीय सवारीसाधनलगायत वस्तु आयात हुँदै आएका छन्।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको ऐतिहासिक व्यापारिक मार्गका रूपमा परिचित रसुवागढी नाका लिच्छवी तथा मल्लकालदेखि नै प्रयोग हुँदै आएको छ।
त्यतिबेला व्यापारीहरूले यही मार्गबाट नुन, ऊन, जडीबुटी तथा अन्य सामग्रीको कारोबार गर्ने गरेको इतिहास छ। आधुनिक सडक सञ्जाल विस्तारसँगै यो नाका अन्तर्राष्ट्रिय व्यापारको महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित भएको छ।
भन्सार कार्यालयका अनुसार यही अवधिमा नेपालबाट करिब ९० करोड रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्। आयात–निर्यात गतिविधिबाट चालु आर्थिक वर्षको हालसम्म १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको निमित्त प्रमुख विकले बताए।
पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियासम्बन्धी उठेका प्रश्नबारे उनले प्रचलित भन्सार ऐन तथा नियमावलीअनुसार पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने व्यवस्था रहेको स्पष्ट पारे।
तोकिएको कानुनी प्रक्रियाअनुसार राजस्व संकलन भएकाले राज्यलाई कुनै आर्थिक क्षति नभएको उनको भनाइ छ।
रसुवागढी नाकाले मुलुकको राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।




















प्रतिक्रिया