काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत धितोबिनै १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ ।

‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८’ संशोधन गर्दै राष्ट्र बैंकले अल्पकालीन चालू पूँजी कर्जाका लागि ५ लाख रुपैयाँ र दीर्घकालीन चालू पूँजी कर्जाका लागि १० लाख रुपैयाँसम्म डिजिटल कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

संशोधित व्यवस्थाअनुसार ग्राहकले मोबाइल बैंकिङबाट आवेदन दिएपछि स्वचालित प्रणालीमार्फत मूल्यांकन भई केही मिनेटमै कर्जा खातामा जम्मा हुनेछ ।

यसका लागि धितो, शाखा भ्रमण वा कागजी प्रक्रिया आवश्यक पर्दैन । राष्ट्र बैंकले यो व्यवस्थाले डिजिटल कारोबार गर्ने लघु तथा साना व्यवसायीको वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने जनाएको छ ।