काठमाडाैं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी किनारका बस्तीहरू हटाएपछि कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न सूचना टाँसेको छ । सोमबारदेखि शुक्रबारसम्म स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो ।
यस अवधिमा कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्। प्रत्येक परिवारलाई स्व: व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताका सूचना अधिकारी टोपबहादुर बानियाँले जानकारी दिए । स्व: व्यवस्थापन गर्न ५ दिन समय दिइएको समितिले जनाएको छ ।
‘सरकारले सुरुमा एकमुष्ट २५ हजारका दरले पैसा दिने, त्यसपछि मासिक १५ हजार दिने भनिसकेको छ,’ सूचना अधिकारी टोपबहादुर बानियाँले भने, ‘अब खाता खोलेर पाँच दिनभित्र उक्त रकम लिएर जान भन्ने निर्देशन भएको छ । यो मन्त्रीस्तरमा निर्णय भएर हामीले यसको व्यवस्थापन हेर्नेछौँ ।’
२०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यका नदीका किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। उक्त बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका छन्।
उनीहरूलाई सरकारको निर्णयअनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई स्व: व्यवस्थापन गर्न मासिक २५ हजार रूपैयाँ दिने भनिएको छ। सोही रकम दिएर हटाउन थालिएको हो।




















प्रतिक्रिया