विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ।
कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा असार ७ गते प्रस्ताव गरेका थिए।
छलफलमा कोशी प्रदेशसभाका २४ जना सदस्यहरूले सुझाव, सल्लाह, टिप्पणी र संशयसहित आआफ्ना धारणा राखेका थिए।
छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री लिंथेपले छलफलमा उठेका रचनात्मक सुझावलाई शिरोधार्य गर्ने भन्दै बजेट न्यायोचित र सन्तुलित भएको बताए।
उनले आन्तरिक आय पाँच अर्ब ५० करोड उठ्ने लक्ष्य राखेको प्रदेश सरकारले कृषि, सिँचाइ, सडक, पूर्वाधार, निजी क्षेत्र र उदय परियोजनामा गर्ने लगानीबाट प्रदेशको आर्थिक वृद्धि दर पाँच प्रतिशत बढी हुने दाबी गरे।
मन्त्री लिंथेपले प्रदेशका १०० वटा विद्यालयमा प्रविधिमैत्री शिक्षा लागू हुने जानकारी दिँदै जङ्गली हात्ती र बाँदरलाई नियन्त्रण गर्न साझा धारणा बनाउनुपर्ने कुरामा जोड दिए।
बाँदर र हात्तीको विषयमा आवाज उठिरहेकाले सरकारले ठोस नीति बनाइ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो।
मन्त्री लिंथेपले आर्थिक वर्ष २०८३/८४ सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ विचार गरियोस् भनी प्रस्ताव सदनमा पेस गरे।
सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो।
समसामयिक विषयमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गत असार ४ गते विराटनरस्थित आफ्ना निवासमा प्रहरीद्वारा भएको खानतलासीको विषयमा आफ्ना कुरा राखेका थिए।




















प्रतिक्रिया