Logo

अर्थ

सरकारको आश्वासनपछि खुले चिया उद्योग



विराटनगर । सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरू खुल्न थालेका हुन् ।

भारतीय टी बोर्डको अवरोध भएपछि उत्पादन भएको चिया भण्डारण गर्न नसकिने, किसानलाई भुक्तानी गर्न नसकिने भन्दै असार १ गते बाट सूर्योदय नगरपालिकामा रहेका ५३ वटा चिया उद्योग बन्द भएका थिए ।

समस्या समाधानमा सूर्योदय नगरपालिका र संघीय सरकारले प्रतिबद्धता जनाएपछि उद्योग सञ्चालन थालिएको उद्योगीहरूले बताएका छन् । असार १ गतेबाट बन्द भएका उद्योग सञ्चालन गर्ने र किसानसँग हरियो पत्ती किन्ने निर्णय भएको सूर्योदय अर्थोडक्स चिया उत्पादक सङ्घले जनाएको छ ।

स्थानीय तहसँग भएको वार्ता र सङ्घीय सरकारले चिया क्षेत्रको समस्या समाधानका लागि गठन गरेको कार्यदलको आश्वासनपछि उद्योग सञ्चालन गर्ने निर्णय भएको सङ्घले जनाएको छ ।

यस्तै व्यवसायी उद्योगी र सम्बन्धित मन्त्रालयहरूसँग भएको समस्या समाधानका लागि पटक पटक बैठक र छलफल भएको थियो । छलफल सकारात्मक भएकाले उद्योग खोल्ने सहमति भएको सङ्घले जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूले जारी गरेको विज्ञप्तिमा चिया उद्योग, किसान र श्रमिकका समस्याहरूको दीर्घकालीन समाधान खोज्नका लागि उच्चस्तरीय कार्यदल गठन भएको र स्थानीय तह ले देखाएको सक्रियताले उद्योगहरू खोल्ने निर्णय गरेको उल्लेख छ ।

विज्ञप्तिमा उद्योगहरूले गुणस्तरीय चिया मात्र प्रशोधन गर्ने र विषादीरहित एवं गुणस्तरीय चिया उत्पादनलाई प्राथमिकता उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, सङ्घले आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अर्थोडक्स चिया उत्पादनमा विशेष जोड दिने र वैकल्पिक अन्तर्राष्ट्रिय बजारको विकास र विस्तारका लागि पहल गरिने छ ।

सूर्योदयका चिया उद्योगीसँग भएको वार्तामा सूर्योदय नगरपालिकाले उत्पादन भएको चिया भण्डारणका लागि गोदाम दिने प्रतिबद्धता जनाएको छ । सङ्घले उत्पादन भएको चिया निर्यातमा अवरोध भएका कारण उत्पादन भएको चिया भण्डारणमा समस्या हुने भन्दै उद्योग बन्द गर्ने निर्णय गरेको थियो । यस्तै चिया नबिक्दा किसानलाई भुक्तानी गर्न समेत समस्या हुने भन्दै उद्योग बन्द गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार १५:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।