काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन ऐतिहासिक हुनुका साथै अपेक्षाभन्दा जटिल बने पनि त्यसबाट सिक्दै अघि बढ्ने बताएका छन्।
महाधिवेशनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाग्लेले चार वर्षअघि सभापति रवि लामिछानेले २१ जनाको समूहबाट सुरु गरेको रास्वपा अहिले पाँच लाखभन्दा बढी सदस्य भएको ठूलो राजनीतिक दलका रूपमा स्थापित भएको उल्लेख गरेका छन्।
“पहिलो राष्ट्रिय महाधिवेशन ऐतिहासिक त रह्यो नै, सोचेभन्दा जटिल पनि बन्न पुग्यो। अन्त भला त सब भला। पहिलो अनुभवबाट सिक्दै, सुधार्दै अघि बढ्नेछौं,” उनले लेखेका छन्।
वाग्लेले महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई दिँदै आफूलाई सर्वाधिक लोकप्रिय मतसहित ८८ प्रतिशत मत प्राप्त गरी केन्द्रीय सदस्य तथा निर्विरोध उपसभापतिमा चयन गरेकोमा महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।
“मप्रति अगाध स्नेह र भरोसा राखी सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य एवं निर्विरोध उपसभापति चयन गरिदिनुभएकोमा सम्पूर्ण प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गर्दछु,” उनले भनेका छन्।
सन्देशको अन्त्यमा उनले “रास्वपा : सततम् आरोहणम्!” लेख्दै पार्टीलाई निरन्तर उन्नतिको यात्रामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




















प्रतिक्रिया