Logo

उद्योग

एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री



भक्तपुर । असार १५ अर्थात् दही–चिउरा खाने दिन भक्तपुरको प्रख्यात ताइचिन चिउराको बिक्री उल्लेख्य रूपमा बढेको छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोकसम्म एकै दिन करिब ४० टन ताइचिन चिउरा बिक्री भएको चिउरा व्यवसायी तथा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए।

उनका अनुसार असार १५ का अवसरमा ताइचिन चिउराको माग वर्षभरकै उच्च हुने गर्छ। दहीसँग स्वादिलो हुने विश्वासका कारण वर्षौंदेखि उपभोक्ताले ताइचिन चिउरालाई प्राथमिकता दिँदै आएका छन्।

भक्तपुरमा सञ्चालित करिब २५ वटा चिउरा मिलबाट दैनिक औसत २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको छ। भक्तपुर–६, भालाछेँस्थित लक्ष्मी चिउरा उद्योगमा मात्रै दैनिक करिब ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको जतिको भनाइ छ।

उनका अनुसार असार १५ मा काठमाडौं उपत्यकाका व्यापारी र रेष्टुरेन्टबाट माग अत्यधिक बढेको थियो। आफ्नो उद्योगमा मात्रै एक हजार किलो चिउराको माग आए पनि उत्पादन अभावका कारण ८०० किलो मात्र आपूर्ति गर्न सकिएको उनले बताए।

हाल भक्तपुरबाट ताइचिन चिउरा प्रतिकिलो २५० रुपैयाँमा बिक्री हुँदै आएको छ।

स्वादिलो र स्वास्थ्यवर्द्धक मानिने भएकाले दहीसँग ताइचिन चिउरा खाने चलन लोकप्रिय रहेको व्यवसायीहरूको भनाइ छ। भक्तपुरबाट वार्षिक करिब ३०० टन ताइचिन चिउरा काठमाडौं उपत्यकामा बिक्री हुने गरेको बताइएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार २१:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।