काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका चार सदस्य नियुक्त गरेको छ।
सूचना तथा सञ्चारमन्त्रीस्तरीय असार ३२ गतेको निर्णयअनुसार लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य नियुक्त भएका हुन्।
पदभार ग्रहणअघि नवनियुक्त सदस्यहरूलाई निर्देशन दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको विकास, विस्तार र नियमनमा प्राधिकरणको भूमिका महत्वपूर्ण रहेकाले देश र जनतालाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
उनले प्राधिकरणको नेतृत्वले गर्ने निर्णय र कार्यशैलीले दूरसञ्चार क्षेत्रको भावी दिशा निर्धारण गर्ने भएकाले उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ काम गर्नुपर्ने बताए।
“देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस्। तपाईंहरूको निर्णय र कार्यसम्पादनले दूरसञ्चार क्षेत्रको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र नतिजामुखी ढंगले काम गर्नुपर्छ,” मन्त्री तिमिल्सिनाले भने।
उनले संस्थाको हित र जनहितविपरीत हुने कुनै पनि गतिविधि सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्दै कार्यसम्पादन सन्तोषजनक नभए सरकारले आवश्यक निर्णय लिन सक्ने चेतावनी दिए।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायक कम्पनीको प्रभावकारी व्यवस्थापन र नियमन प्राधिकरणको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै गुणस्तरीय, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने सेवा सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिए।
देशभर दूरसञ्चार सञ्जाल विस्तार, सेवा पहुँच वृद्धि र डिजिटल पूर्वाधार विकासमा प्राधिकरणले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। नियामकीय संरचनालाई थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा अपेक्षित सुधार अझै हुन नसकेको बताए।
सूचना तथा सञ्चार क्षेत्रको तीव्र परिवर्तनसँगै नयाँ प्रविधि, बढ्दो प्रतिस्पर्धा, सेवा गुणस्तर, उपभोक्ता हित संरक्षण र डिजिटल रूपान्तरणका चुनौती बढ्दै गएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले ती चुनौती सामना गर्न सक्षम, निष्पक्ष र प्रभावकारी नियामक संस्थाको आवश्यकता रहेको बताए।




















प्रतिक्रिया