Logo

विविध

काठमाडौंमा इएमएफ ग्लोबल कन्भेन्सन एण्ड अवार्ड, विश्वभरका इभेन्ट उद्योगका अगुवाहरुको जमघट



काठमाडौं । इभेन्ट म्यानेजमेन्ट फेडरेसन(इएमएफ ग्लोबल)को आयोजनामा १३औं ‘इएमएफ एसीइ ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ कार्यक्रम काठमाडौंमा सुरु भएको छ । तीनदिने सम्मेलन अगस्ट १ सम्म सञ्चालन हुनेछ ।

भारतको इभेन्ट, विवाह तथा अनुभवात्मक उद्योगको सर्वोच्च संस्था इएमएफ ग्लोबलले आयोजना गरेको सम्मेलनमा भारत, नेपालसहित विभिन्न देशका प्रतिनिधिको सहभागिता छ ।

सम्मेलनले उद्योगबीच सहकार्य, नवप्रवर्तन, व्यवसाय विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

इएमएफ ग्लोबल सन् २०१३ मा १३ जना इभेन्ट उद्यमीले स्थापना गरेका थिए । संस्थाले भारतको इभेन्ट तथा विवाह उद्योगलाई व्यवस्थित, व्यावसायिक र विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ ।

सन् २०१४ मा अहमदाबादबाट सुरु भएको कन्भेन्सन त्यसयता उदयपुर, रसअल खैमा, श्रीलंका, जयपुर, इजिप्ट, भियतनाम, अबुधाबी र थाइल्यान्ड हुँदै पहिलो पटक नेपालमा आयोजना भएको हो ।

प्रत्येक संस्करणले नयाँ गन्तव्यलाई विश्व इभेन्ट बजारमा प्रवद्र्धन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।

यस वर्षको सम्मेलनमा बलिउड अभिनेता विक्रान्त मेस्सी, अभिनेत्री शिल्पा शेट्टी, नेपाली अभिनेत्री मनीषा कोइराला तथा अभिनेता शक्ति कपुर लगायत चर्चित व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

अध्यक्ष जयदीप मेहताले काठमाडौंले आफ्नो सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र विकसित आतिथ्य पूर्वाधारका कारण गन्तव्य विवाह तथा अनुभवात्मक इभेन्टका लागि उत्कृष्ट सम्भावना बोकेको बताए ।

उनले सम्मेलनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय इभेन्ट गन्तव्यका रूपमा थप स्थापित गर्न, सीमापार व्यापारिक सहकार्य विस्तार गर्न तथा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा उद्योगसम्बन्धी मुख्य सत्र, व्यापारिक नेटवर्किङ, गन्तव्य प्रस्तुति, उद्योग प्रदर्शनी तथा विभिन्न विधामा उत्कृष्ट योगदान दिने संस्था तथा व्यक्तिलाई अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार सम्मेलनले नेपाललाई दक्षिण एसियाको उदीयमान गन्तव्य विवाह तथा इभेन्ट हबका रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने, स्थानीय होटल, इभेन्ट कम्पनी, पर्यटन व्यवसायी, सजावट, प्रोडक्सन तथा अन्य सेवा प्रदायकलाई नयाँ व्यापारिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार २०:३१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।