काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न आदेश जारी गरेको छ ।
स्मार्ट टेलिकम प्रालिको हाइपोथिकेशनमा रहेको सेयर लिलामी प्रक्रियासँग जोडिएको विषयमा फौजदारी अनुसन्धान अघि बढिरहेका बेला पक्राउको तयारी भएको दाबी गर्दै बैंकका पदाधिकारी सर्वोच्च पुगेका थिए । उनीहरूको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्कालका लागि पक्राउ रोकिदिएको हो ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अनुसन्धान नै रोक्ने आदेश भने दिएको छैन । अदालतले अनुसन्धान जारी रहेको अवस्थामा पक्राउ गर्नुपर्ने वा नपर्ने विषयमा दुवै पक्षको भनाइ सुन्न आवश्यक रहेको भन्दै (२०८३ साउन २८ गते) छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
त्यसअघि निवेदकहरूलाई अनुसन्धान प्रयोजनका लागि पक्राउ नगर्न तथा नगराउन अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आगामी छलफलपछि उक्त आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा अदालतले निर्णय गर्नेछ ।
बैंकबाट स्मार्ट टेलिकमको हाइपोथिकेशनमा रहेको शेयर लिलामीसम्बन्धी प्रक्रियालाई लिएर फौजदारी अनुसन्धान भइरहेको छ । सोही अनुसन्धानमा आफूहरूलाई पक्राउ गर्न लागिएको दाबी गर्दै अध्यक्ष पाण्डे, सीईओ पाण्डेसहित बैंकका पदाधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा अध्यक्ष र सीईओसँगै सञ्चालकहरू प्रज्ञराज राजभण्डारी, कवि कुमार टिवरेवाल, दीपांकर शाक्य उदय, शालिकराम बेल्वासे र शोभा श्रेष्ठ पनि निवेदक रहेका छन् । सर्वोच्चले विपक्षी पक्षसँग लिखित जवाफसमेत मागेको छ ।
साथै, अदालतको आदेश सम्बन्धित निकायलाई जानकारी गराउन निर्देशन दिएको छ ।




















प्रतिक्रिया