काठमाडौं । सरकारको आर्थिक सुधारको नाराबीच अर्थतन्त्रका विभिन्न सूचकांकमा दबाब देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मुद्रास्फीति, खाद्यवस्तुको मूल्यवृद्धि, व्यापार घाटा र बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा वृद्धि भएको छ।
उपलब्ध विवरणअनुसार मुद्रास्फीति १.६८ प्रतिशतबाट बढेर ५.९६ प्रतिशत पुगेको छ। खाद्य मुद्रास्फीति पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष २.२८ प्रतिशतले ऋणात्मक रहेको खाद्य मुद्रास्फीति अहिले ६.७७ प्रतिशत पुगेको छ। यसले दैनिक उपभोग्य वस्तुको मूल्यमा परेको दबाब देखाउँछ।
व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा २४.९ प्रतिशतले बढेको छ। आयातको तुलनामा निर्यात कमजोर हुँदा मुलुकको वैदेशिक व्यापार असन्तुलन थप फराकिलो भएको देखिन्छ।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात पनि बढेर ५.६६ प्रतिशत पुगेको छ। यसले बैंकिङ क्षेत्रमा कर्जा असुली र लगानीको गुणस्तरसम्बन्धी चुनौती बढिरहेको संकेत गर्छ।
त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले घटेको छ।
यी सूचकांकले बालेन नेतृत्वको सरकारका लागि अर्थतन्त्र व्यवस्थापन चुनौतीपूर्ण रहेको देखाउँछन्। सरकारले आर्थिक सुधार, सुशासन र निजी क्षेत्रको मनोबल बढाउने प्रतिबद्धता व्यक्त गरिरहे पनि मूल्यवृद्धि, व्यापार असन्तुलन, खराब कर्जा र पुँजी बजारको अवस्थाले अर्थतन्त्रमा देखिएका चुनौतीलाई उजागर गरेका छन्।
विशेषगरी दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको क्रयशक्तिमा दबाब पार्न सक्छ भने व्यापार घाटा र खराब कर्जाको वृद्धिले निजी क्षेत्रको आर्थिक गतिविधिमा समेत असर पार्न सक्छ। अर्थतन्त्रका यी चुनौती सम्बोधन गर्न सरकारले मूल्यवृद्धि नियन्त्रण, उत्पादन तथा निर्यात प्रवर्द्धन, लगानी विस्तार र बैंकिङ क्षेत्रको कर्जा असुली सुधारमा प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।




















प्रतिक्रिया