Logo

प्रमुख समाचार

बाढीका कारण २७० जनाको मृत्यु, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन



काठमाडौं । रसुवा जिल्ला तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीका कारण हालसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको छ । प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हाल ४ हजार ५० जना प्रहरी परिचालन गरिएको छ । विपद्मा परेर रसुवाका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत २८ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

बाढीका कारण ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी चितवनमा १०८ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी (पूर्व) मा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी (पश्चिम) मा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ ।

बाढी प्रभावित रसुवा जिल्लामा कार्यरत सुरक्षाकर्मीहरूसमेत ठूलो संख्यामा सम्पर्कविहीन छन् । इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना र प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना मात्र सम्पर्कमा आएका छन् । यसैगरी स्यापुर्बेँसी चौकीका ८ मध्ये ५, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ मध्ये ३, बेत्रावती चौकीका १० मध्ये ९ तथा हाकु चौकीका ६ मध्ये ५ जना सम्पर्कमा आएका छन् भने बाँकी २८ जना प्रहरी अझै सम्पर्कमा आउन सकेका छैनन् ।

बाढीका कारण घाइते भएका ६६ जनामध्ये १४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ, जसमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा २६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना तथा वीरेन्द्र सैनिक अस्पताल र मनमोहन अस्पतालमा १–१ जनाको उपचार जारी छ । प्रभावित क्षेत्रमा उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १५:०२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।