Logo

अर्थ

रसुवा बाढी प्रभावितका लागि १० कम्पनीबाट २७ करोड ३३ लाख सहयोग



काठमाडौं ।  रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि विभिन्न बैंक तथा व्यावसायिक प्रतिष्ठानले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २७ करोड ३३ लाख रुपैयाँ सहयोग गरेका छन्।

पछिल्लो ६ घण्टामा विभिन्न १० दाता कम्पनी तथा संस्थाबाट प्राप्त रकम अर्थ मन्त्रालयमार्फत कोषमा जम्मा गरिएको हो। एकद्वार प्रणालीमार्फत राहत तथा पुनर्स्थापनाका लागि संकलित सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझिरहेका छन्।

अर्थ मन्त्रालयका अनुसार सबैभन्दा ठूलो सहयोग गोरखा ब्रुअरीले १० करोड रुपैयाँ प्रदान गरेको छ। त्यसपछि कुमारी बैंक लिमिटेडले ३ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख र सारस बेभरेज (रेडबुल) ले २ करोड रुपैयाँ सहयोग गरेका छन्।

एनसेलले १ करोड रुपैयाँ, शिवशक्ति ग्रुपले ५१ लाख रुपैयाँ तथा रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ कोषमा योगदान गरेका छन्।

अर्थ मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा खोजी कार्यसँगै पुनर्स्थापनाका लागि प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने जनाएको छ।

पछिल्लो समय रसुवामा बाढी तथा पहिरोका कारण ठूलो क्षति भएपछि सरकारी तथा गैरसरकारी क्षेत्रबाट राहत र पुनर्स्थापनाका लागि सहयोग जुट्न थालेको हो।

सहयोग गर्ने दाता र रकम

कुमारी बैंक लिमिटेड — ३ करोड रुपैयाँ

गोरखा ब्रुअरी — १० करोड रुपैयाँ

एनसेल — १ करोड रुपैयाँ

एनआईसी एसिया बैंक — २ करोड २१ लाख रुपैयाँ

रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज — १० लाख रुपैयाँ

शिवशक्ति ग्रुप — ५१ लाख रुपैयाँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) — २ करोड ५० लाख रुपैयाँ

सारस बेभरेज (रेडबुल) — २ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंक — ३ करोड रुपैयाँ

नेपाल बैंक लिमिटेड — ३ करोड १ लाख रुपैयाँ

यसरी पछिल्लो ६ घण्टामा मात्रै १० दाताबाट प्राप्त सहयोग रकम २७ करोड ३३ लाख रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १९:३४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।