Logo

प्रमुख समाचार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र जीवितै भेटिने आशा: भित्रबाट मानिस बोलेको आवाज आएको सांसद न्यौपानेको दाबी



काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसको आवाज सुनिएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

उद्धारस्थलमा प्राविधिक भूमिकामा खटिएका प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र प्रवेश गरेको नेपाली सेनाको टोलीले भित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी गराएको हो।

सुरुङभित्र कामदार तथा प्राविधिकहरू फसेको आशंकाबीच मानिसको आवाज सुनिनुलाई उद्धारका लागि आशाजनक संकेतका रूपमा लिइएको न्यौपानेले बताए।

हाल नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली सुरुङभित्र प्रवेश गरी थप अगाडि बढ्दै खोज तथा उद्धार कार्य गरिरहेको छ। सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्थाबारे भने अझै यकिन विवरण सार्वजनिक भएको छैन।

उद्धार कार्यमा प्राविधिक नेतृत्व गरिरहेका न्यौपानेका अनुसार उनी हिजो साँझसम्म इन्जिनियरका रूपमा घटनास्थलमै खटिएका थिए। अब सांसदको भूमिकामा पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यहाँबाट गाडीमार्फत काठमाडौं फर्किने तयारीमा छन्।

उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोलीलगायत सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।

 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार ०७:२०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।