Logo

कर्पोरेट फोकस

कृषि विकास बैंकद्वारा बाढीपीडितका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण



काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले १० लाख रुपैयाँ बराबरको लगभग २०० पिडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, विष्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा, पिउने पानी लगायतका अत्यावस्यक खाद्य सामग्रीहरु सहयोग गरेको हो । यस अघि पनि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.३ करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।

बैंकले सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा पुगेर उक्त खाद्य सामग्री हस्तान्तरण गरेको हो । बैंकका तर्फबाट मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्माले खाद्य सामग्री हस्तान्तरण गरिन् भने कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना, कार्यालय सहायक बबिता अर्याललगायतको उपस्थिति रहेको थियो ।

देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ ।

यसैबीच, विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउन बैंकले देश तथा विदेशमा रहेका इच्छुक संघसंस्था तथा व्यक्तिहरूलाई सक्दो सहयोग उपलब्ध गराउन अपिलसमेत गरेको छ । बैंकले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा सहयोग गर्न बैंक खाता तथा क्यूआर कोडसमेत सार्वजनिक गरेको जनाएको छ ।

बैंकले विपद्का समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र सहयोग आवश्यक रहेको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १७:३८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।