काठमाडौं । पहिलो संस्करणको नेपाल भलिबल लिग एनभिएलको टिम सगरमाथा स्म्यासर्सले मुख्य प्रायोजकको स्थानमा कुनै व्यावसायिक संस्था नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआर राखेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको ठुलो जनधनको क्षतिपछि खेलकुद क्षेत्रका थुप्रै सङ्घसंस्थाले आ—आफ्नो ठाउँबाट सहयोग गरिरहेको भन्दै सगरमाथाले आफूले पनि बाढी पीडितको उद्धार तथा राहतमा ऐक्यबद्धता जनाउन क्युआर राखेको टिमका प्रमोटर शनि राज भण्डारीले जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको ठुलो जनधनको क्षतिले स्तब्ध भएको जनाउँदै सिङ्गो सगरमाथा टिमले बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै टिमले बेपत्ता नागरिकको शीघ्र खोजी, उद्धार तथा प्रभावितहरूको सुरक्षित पुनः स्थापना होस् भन्ने कामनासमेत गरेको छ ।
यस्तो विपद्मा सबैले आ९आफ्नो ठाउँबाट गरेको सानो प्रयासले पनि सरकार र सम्बन्धित निकायलाई ठुलो बल पुग्छ भन्ने बुझाइ रहेको सगरमाथाले जनाएको छ ।
मुख्य प्रायोजक राख्ने ठाउँमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआर राखेकोप्रति सगरमाथा टिम भन्छ, ‘भलिबल नेपालको राष्ट्रिय खेल हो र यसप्रति आम नागरिकको लगाव सर्वविदितै छ । देश संकटमा पर्दा देशबासी एकजुट भएर मात्रै अवस्था सहज बनाउन सकिन्छ ।
यसै विश्वासका साथ हामीले पहिलो संस्करणको एनभीएलमा मुख्य प्रायोजकको स्थानमा कुनै व्यावसायिक संस्था नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआर राख्ने निर्णय गरेका छौँ । खेलकुद क्षेत्रका थुप्रै सङ्घसंस्थाले आआफ्नो ठाउँबाट सहयोग गरिरहनुभएको छ। हामीले पनि त्यही ऐक्यबद्धता जनाउन यो निर्णय लिएका हौँ ।’
यसअघि आयोजकले समेत मधेस वारियर्सविरुद्धको एनभीएल उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिइसकेको छ ।
यस दुःखद घडीमा देशका लागि एकजुट हुन सम्पूर्ण खेल प्रेमी तथा नागरिकमा हार्दिक अनुरोधसमेत सगरमाथाले गरेको छ । एनभीएल शुक्रबारदेखि सुरु भएको छ । छ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा विजयी भएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा सगरमाथाले मधेस वारियर्सलाई ३९१ को सेटमा हराएको हो । भदौ २५ गतेसम्म चल्ने एनभीएलमा ६ टोलीले सिंगल राउन्ड रोबिन लिग खेलेपछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ जित्नेछ । नेपाली भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार राशि हो ।
















प्रतिक्रिया