Logo

अर्थ

विपद् प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग : बुद्धिस्ट सेन्टरद्वारा एक करोड प्रदान



रुपन्देही ।  विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । यसै क्रममा इन्टरनेशनल बुद्धिस्ट सेन्टर, वाल्डो डाइनेस्टी र नेपाल आङ्घोले एक करोड रुपैयाँ बराबरको राहत सहयोग उपलब्ध गराएका छन् ।

संस्थाका अध्यक्ष स्टेवार्ड च्याङ र लियाङले ५० लाख रुपैयाँ नगद तथा थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न र अत्यावश्यक राहत सामग्री उपलब्ध गराएका हुन् ।

नगद सहयोगको चेक पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ले अर्थमन्त्रीका तर्फबाट ग्रहण गरेका थिए । सहयोग ग्रहण गर्दै मन्त्री पौडेलले विपद्बाट प्रभावित वास्तविक पीडितसम्म राहत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले मानवीय संकटका बेला सहयोग उपलब्ध गराउने संस्थालाई धन्यवाद दिँदै प्राप्त राहत सामग्री तथा नगद रकम प्रभावित नागरिकको राहत र पुनःस्थापनामा प्रयोग गरिने बताए ।

नेकपा एमालेका नेता, लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा अन्तर्राष्ट्रिय बुद्धिस्ट सेन्टरका अध्यक्ष विष्णु पन्थीका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको हो ।

नगदसँगै खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराइएकाले तत्काल राहत आवश्यक परेका परिवारलाई सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

विपद्का बेला राज्यको प्रयासमा निजी क्षेत्र, सामाजिक संस्था तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले राहत अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने पन्थीको भनाइ छ ।

मानवीय संकटका बेला गरिएको सहयोगले विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता र मानवीय सहकार्यको सकारात्मक सन्देश दिएको उनले बताए ।

 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार २१:०४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।