Logo

Sports

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने रोनाल्डोको घोषणा



काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने बताएका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि खेल्ने अवसर आफ्नो जीवनकै गौरवपूर्ण अनुभव भएको उल्लेख गर्दै अब प्रतिष्ठित सात नम्बरको जर्सी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् । उनले यो निर्णय भावनात्मक भए पनि आफ्नो अन्तर्राष्ट्रिय यात्राको स्वाभाविक अन्त्य भएको बताएका छन् ।

सन् २००३ अगस्टमा कजाखस्तानविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका रोनाल्डोले त्यसपछि पोर्चुगलको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरे ।

२३ वर्षको अन्तर्राष्ट्रिय करियरमा उनले २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान रोनाल्डोकै नाममा छन् ।

उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस्तै, सन् २०१९ मा यूईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो । रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरमा युरोपियन च्याम्पियनसिपका ६ र फिफा विश्वकपका ६ संस्करण खेलेका छन् । किशोर उमेरमा राष्ट्रिय टोलीमा प्रवेश गरेका उनी पोर्चुगल फुटबल इतिहासकै सर्वाधिक सफल खेलाडीमध्ये एक बनेका छन् । एएनआई

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार ०९:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।