Logo

समाचार

प्रहरी महानिरीक्षक कार्कीमाथि छानबिन र बर्खास्तको माग गर्दै सांसद सुनारद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा गम्भीर आरोप लागेका प्रहरी नेतृत्वमाथि सरकार मौन बसेको भन्दै प्रश्न उठाए ।

‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्रीहरू बर्खास्त भइसक्नुभएको छ। तर अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमती लगायतका उच्च अधिकारीहरूमाथि करोडौँ भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ,’ सांसद सुनारले भने, ‘उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म उजुरीको चाङ लागेको छ । तल्लो दर्जाका प्रहरीहरूको जुत्ता–मोजासमेत खाइदिएको आरोप उनीमाथि छ ।’

उनले करोडौँ भ्रष्टाचारको आरोप लाग्दा पनि सरकारले महानिरीक्षक कार्कीलाई बर्खास्त नगर्नु र छानबिन प्रक्रिया अघि नबढाउनुको कारणबारे स्पष्ट पार्न माग गरे । सुनारले प्रहरी संगठनमाथि लाग्ने यस्ता आरोपले गम्भीर अर्थ राख्ने बताए ।

‘सरकारले उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ ? बाबुलाई छोरीको र पुलिसलाई चोरीको आरोप लाग्नु निकै गम्भीर विषय हो,’ उनले भने ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार १४:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।