Logo

प्रमुख समाचार

महँगीको मारमा उपभोक्ता, सरकारको अनुगमनमाथि प्रश्न



काठमाडौं । बजारमा निरन्तर बढिरहेको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ। खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको मूल्य बढ्दै गए पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको भन्दै उपभोक्ताले सरकारप्रति प्रश्न उठाएका छन्।

बाढीपहिरोका कारण आपूर्ति प्रणाली प्रभावित भएको अवस्थामा त्यसको असर बजारमा पर्न सक्ने भए पनि विपत्तिलाई बहाना बनाएर कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गर्न नहुने उपभोक्ताको गुनासो छ। विशेषगरी खाना पकाउने ग्यासको आपूर्ति र मूल्यमा देखिएको अस्थिरताले नागरिकलाई थप समस्यामा पारेको छ।

सरकारले बजार अनुगमन भइरहेको दाबी गर्दै आए पनि त्यसको प्रत्यक्ष प्रभाव उपभोक्ताको भान्सामा नदेखिएको भन्दै प्रश्न उठेको छ। अनुगमनपछि मूल्य घट्यो कि घटेन, दोषीमाथि कारबाही भयो कि भएन र कृत्रिम अभाव रोकियो कि रोकिएन भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्चको नाममा वस्तुको मूल्य बढ्ने तर इन्धनको मूल्य घट्दा बजार मूल्य नघट्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाइएको छ। लागत घट्दा मूल्य पनि घट्नुपर्ने भन्दै वास्तविक लागत र नाफाको संरचना सरकारले निगरानी गर्नुपर्ने आवाज उठेको छ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न, कपडा, मासु, फलफूल तथा अन्य दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले कृत्रिम अभाव र कालोबजारीको जोखिम झनै बढ्ने देखिएको छ। यस्तो अवस्थामा मूल्यसूची र बिल अनिवार्य गर्ने, नियमित अनुगमन गर्ने तथा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारीमा संलग्नलाई कारबाही गर्नुपर्ने माग छ।

बाढीका कारण अवरुद्ध आपूर्ति मार्गका लागि वैकल्पिक ढुवानी व्यवस्था, अत्यावश्यक वस्तुको मौज्दात सार्वजनिक गर्ने र बजार मूल्यबारे नियमित सूचना प्रवाह गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

महँगी नियन्त्रण सरकारको सुशासनको प्रत्यक्ष परीक्षा भएको भन्दै नागरिकले भाषणभन्दा सहज आपूर्ति र उचित मूल्यमा अत्यावश्यक वस्तुको उपलब्धता खोजिरहेका छन्। जनताको चुलो बल्ने वातावरण बनाउनु नै अहिले सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने आवाज बढेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार ०९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।