Logo

अर्थ

जलनका बिरामीलाई काठमाडौं महानगरले २ लाखसम्मकाे उपचार निःशुल्क गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने भएको छ । जलको उपचार गराउनुपर्ने लक्षित वर्गका बिरामीका लागि २ लाख रूपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउन लागिएको हो ।

निःशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)बीच एक सम्झौता भएको छ ।

साथै उपचारका लागि प्रयोग हुने औजार, उपकरण तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ ।

जसमध्ये ‘जलन उपचार कोष’मा १ करोड रुपैयाँ रहनेछ । उपचारका लागि लक्षित वर्गलाई यही कोषबाट प्रति बिरामी २ लाख रुपैयाँसम्म खर्च ब्यहोरिनेछ । सोही कोषमा जम्मा गरिएको रकम, यस आर्थिक वर्षमा खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलन उपचारकै लागि प्रयोग हुनेछ ।

कार्यक्रममा महानगरपालिका कार्यबाहक प्रमुख सुनिता डंगोलले कसैलाई पैसाको अभावमा जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बताइन् । ‘कसैले जलन भोग्नु नपरोस् । भवितव्य पर्‍यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस् । बल्ल बल्ल अस्पताल पुर्‍याएपछि विरामी छोडेर पैसाको खोज्न जानु नपरोस् । यसका लागि कोषको व्यवस्था गरेका हौँ ।’ उनले थप्दै भनिन्, ‘आगलागी नियन्त्रण गर्दा फ्रन्ट लाइनमा बसेर काम गर्ने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र महानगरबासीलाई जलनबाट बच्ने उपायको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ । जलनमा पर्नेलाई २ लाख रुपैयाँ सम्मको निःशुल्क उपचार प्रदान गर्नेछौँ ।’

महानगरपालिकाले उपलब्ध गराएका ५ सय एमएको डिजिटल एक्सरे मेसिनबाट दैनिक १ सयजनासम्मलाई सेवा दिन सकिएको जानकारीबाट आफूलाई खुशी लागेको बताउँदै कार्यवाहक प्रमुख डंगोलले, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, टिचिङ् हस्पिटल, कान्ति बाल अस्पतालसहित ठुला अस्पतालहरुलाई विरामीको सहज उपचारका लागि आवश्यक पर्ने पूर्वाधार, साधन तथा उपकरण सहयोग गरिएको जानकारी दिँदै स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन महानगर अस्पताल स्थापनाको तयारी गरिएको बताइन् ।

 

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १४:४०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।