Logo

मनोरञ्जन

नेपाल कला परिषद्का ग्यालरीहरूमा ‘डिटिज अफ नेपाल: लोर्स एन्ड लेजेन्ड्स’ कला प्रदर्शनी हुने



काठमाडौं । बबरमहलस्थित नेपाल कला परिषद्का ग्यालरीहरूमा ‘डिटिज अफ नेपाल III : लोर्स एन्ड लेजेन्ड्स’ कला प्रदर्शनी आयोजना हुने भएको छ। नेपाली देवीदेवता, संस्कृति, परम्परा र आध्यात्मिक विश्वासलाई समकालीन कलामार्फत प्रस्तुत गरिएको प्रदर्शनी असोज १ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा १ सय ५७ जना कलाकारले सिर्जना गरेका २ सय ८५ वटा कलाकृति राखिनेछन्। आयोजकका अनुसार नेपाली समाजमा देवीदेवताको उपस्थिति मन्दिर र धार्मिक स्थलमा मात्र सीमित नभई दैनिक जीवन, संस्कार, प्रकृति र सामूहिक स्मृतिसँग समेत जोडिएको विषयलाई कलामार्फत प्रस्तुत गर्ने उद्देश्य प्रदर्शनीको छ।

प्रदर्शनीको नेतृत्व प्रमुख क्युरेटर स्वास्ती राजभण्डारी कायस्थले गरेकी छन् भने प्रणव मान सिंह सह–क्युरेटर छन्। राजानी सिन्खवाल, रश्मि मानन्धर र श्रेया चित्रकार क्युरेटोरियल टोलीमा छन्।

नेपालको मौलिक कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको नेपाल आर्ट काउन्सिलकी कार्यकारी सदस्य तथा अग्नि इन्कर्पोरेटेडकी प्रबन्ध निर्देशक सुसन वैद्य श्रेष्ठले बताइन्।

प्रदर्शनीका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको पनि महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। पाण्डेका अनुसार यस्ता ठूला कला प्रदर्शनीका लागि वार्षिक करिब १ करोड रुपैयाँसम्म परिचालन हुँदै आएको छ। नेपाली कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाउने उद्देश्यले प्रदर्शनीलाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिइएको उनले बताए।

प्रदर्शनी अवधिभर कला अवलोकनसँगै विभिन्न सांस्कृतिक तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना हुनेछन्। असोज ३ गते दुर्लभ मानिने चर्या नृत्य प्रस्तुत गरिनेछ। त्यसमा सप्तलोचन तारा र महाकालसँग सम्बन्धित प्रस्तुति रहनेछ भने पाटनकी पूर्वकुमारी चनिरा बज्राचार्यले समेत विशेष प्रस्तुति दिनेछिन्।

त्यस्तै सम्पदा अध्येता तथा लेखक ऋषि अमात्यको नेतृत्वमा ग्यालरी भ्रमण कार्यक्रम सञ्चालन हुनेछ। ज्योतिष, उपचार तथा ध्यानसम्बन्धी सत्र जिमी थापाले सञ्चालन गर्नेछन्। कलाकार तेन्जिन नोर्बुले डोल्पा क्षेत्रका धार्मिक तथा सांस्कृतिक कथाहरू सुनाउने मौखिक कथा वाचन कार्यक्रम पनि प्रदर्शनीको अर्को आकर्षण हुनेछ।

प्रदर्शनीले प्राचीन धार्मिक आख्यान र लोकविश्वासलाई समकालीन कलासँग जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ। सहभागी कलाकारलाई पुराना मिथक र परम्पराका ‘कथा संरक्षक’का रूपमा प्रस्तुत गर्दै ती विषयलाई वर्तमान पुस्तासँग जोड्ने प्रयास गरिएको छ।

सन् १९६२ मा स्थापना भएको नेपाल कला परिषद् नेपालमा कला र कलाकारको प्रवर्द्धन, संरक्षण तथा विकासका लागि काम गर्दै आएको गैरनाफामूलक संस्था हो। राजा महेन्द्रको संरक्षकत्वमा स्थापना भएको परिषद्का वर्तमान अध्यक्ष सागर एसजेबी राणा छन्।

 

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।