काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि लागू हुने गरी दर्ता प्रक्रिया खुला गरिएको हो ।
उपत्यकाबाहिर दर्ता हुने सवारीसाधनमध्ये विद्युतीय सार्वजनिक यात्रुवाहक साधनलाई विशेष प्राथमिकता दिइने विभागले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र भने नयाँ सार्वजनिक यात्रुवाहक सवारी दर्तामा लगाइएको रोक यथावत् राखिएको छ । उपत्यकाको सडक तथा रुट व्यवस्थापनलाई ध्यानमा राख्दै स्कुल बस र पुराना सवारी साधनको सट्टा भर्नाका लागि मात्र दर्ता खुला गरिएको छ ।
सरकारले ७ जेठ २०८३ देखि लागु हुने गरी दर्ता रोकेको थियो । दर्ता किन रोकिएको हो र के निष्कर्षमा पुगेर खुला गरिएको भन्नेमा स्वयं विभागका अधिकारी मौन छन् ।
विभागका निर्देशक मणिराम भुसाललले काठमाडौं उपत्यका भित्रका रुट तथा सवारी व्यवस्थापनका लागि उपत्यका बाहिरमात्र दर्ता खुला गरिएको बताएका छन् ।
विभागले मालवाहक सवारीसाधन दर्ता १८ साउनदेखि नै खुला गरेको थियो । त्यसअघि ८ असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधन समेत दर्ता गरिएको थियो ।















प्रतिक्रिया