काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउन आफूले सक्ने सबै प्रयास गर्न तयार रहेको स्पष्ट पारे।
पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन तथा वडा अधिवेशनको उद्घाटन गर्नसमेत आग्रह गर्दै उनले भने, ‘३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन हुँदै छ। उहाँले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति ठूलो सम्मानको विषय हुन्छ। यो पार्टीको विधानले उहाँ सभापति हुने होइन, उहाँ जसरी पनि बिदा नै भएर जाने हो।’
थापाले पार्टीभित्रको पुरानो विवादलाई लिएर अब एकअर्कामाथि टिप्पणी नगर्न नेता–कार्यकर्तालाई सचेत गराए। ‘आजदेखि सबै कुरा बिर्सेर त्यसलाई मेट्ने र आउँदो दिनमा थप कोसिस गरौँ,’ उनले भने, ‘हाम्रा आफ्ना साथीहरूका बारेमा कसैले हल्का टिप्पणी गर्ने कुरा पनि आजबाट बन्द गरौँ। यो कांग्रेसको क्यारेक्टर होइन। पार्टीभित्र प्रियता र एकता एकजनाले चाहेर मात्र हुँदैन, सबैले सबै ठाउँमा बसेर काम गर्नुपर्छ।’
असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन तल्लो तहका नेता–कार्यकर्तालाई आग्रह गर्दै उनले अब पार्टीको आन्तरिक विवादबाट बाहिर निस्केर देश र नागरिकका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए। कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदै छ।
















प्रतिक्रिया