Logo

समाचार

एक महिनामा विमानस्थलबाट १ किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ।

विदेशबाट नेपाल फर्किने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन भित्र्याइने गरेको सूचनाका आधारमा विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको जाँचका क्रममा सुनसहित ४५ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट बरामद सुनको मूल्य करिब एक करोड २५ लाख १८६ रुपैयाँ बराबर रहेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा विदेशबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई रकम वा ज्यालाको प्रलोभन देखाएर तस्कर समूहले सुन बोकाएर पठाउने गरेको खुलेको प्रहरीले जनाएको छ।

यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गराउने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी बढाइएको प्रहरीको भनाइ छ।

बरामद सुन तथा पक्राउ परेकाहरूका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

घटनामा संलग्न देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार ०६:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।