Logo

विविध

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर ऋचाले लोकसेवामा नाम निकालिन्



काठमाडौँ । भोटेकोशीमा आएको बाढीपछि २८ दिनदेखि बेपत्ता इन्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षामा सफलता हासिल गरेकी छन्। तर लोकसेवा उत्तीर्ण भएको खबर सार्वजनिक भइरहँदा पनि उनको अवस्था भने अझै अज्ञात छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि निरौला बेपत्ता भएकी हुन्। उनी २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्। आयोजनामा उनी करिब ६ महिनादेखि कार्यरत रहेको बताइएको छ।

मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भएकी निरौला पछिल्लो समय विराटनगर–३ मा बस्दै आएकी थिइन्।

लोकसेवा आयोगले असोज ८ गते बिहीबार सार्वजनिक गरेको नतिजामा निरौलाले क्रम संख्या १२ मा नाम निकाल्न सफल भएकी हुन्। तर, उनले परीक्षा उत्तीर्ण गरेको खबर सार्वजनिक हुँदा पनि परिवार भने उनको खोजीमै छ।

भोटेकोशी बाढीमा बेपत्ता भएको २८ दिन बितिसक्दा पनि निरौलाको अवस्था पत्ता लाग्न सकेको छैन। लोकसेवा परीक्षामा सफलता हात पारेकी निरौलाको नाम सार्वजनिक भइरहँदा उनी कहाँ छिन् भन्नेबारे परिवार र आफन्त अझै अनभिज्ञ छन्।

लोकसेवा आयोगको नतिजाले उनको सफलताको खबर दिए पनि बाढीपछि बेपत्ता निरौलाको खोजी भने अझै जारी छ।

 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार १९:२२   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।