Logo

विविध

६ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन



गुल्मी । वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

वर्षा रोकिएपछि सोमबारदेखि स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर तथा एक्साभेटर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बताए।

उनका अनुसार हर्मिचौर–अर्वेनी–पुर्तिघाट सडक खण्डका चारदेखि पाँच स्थानमा ठूला ढुंगासहितको पहिरो खसेको छ। पहिरो ठूलो भएकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिन भएको उनले बताए।

शाखा सडकमा खसेका पहिरो स्थानीय तहले हटाइरहेको भए पनि मुख्य सडकको पहिरो पन्छाउने काम सडक डिभिजन कार्यालयले गरिरहेको छ।

‘मुख्य सडकमा ठूलो पहिरो खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई–तीन दिन लाग्न सक्छ,’ अध्यक्ष थापाले भने।

सडक खुलाउने कामलाई तीव्रता दिन पुर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए।

सडक लामो समयदेखि अवरुद्ध हुँदा बागलुङ, पाल्पा, बुटवल र पोखरा आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ। सदरमुकाम तम्घास आवतजावत गर्ने सेवाग्राही पनि प्रभावित भएका छन्।

 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार २०:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।