काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्ने भएको छ।
कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो।
देउवा पक्षले १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ। त्यसअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ। उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको नेता किरणराज पौडेलले बताए।
उनका अनुसार देउवा पक्षले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइसकेको छ। वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको छ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले अहिले महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको थियो। तर संस्थापन पक्षले असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर अधिवेशनको तयारी थालेको हो।
देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन्। उनले वडा अधिवेशनमा नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई सक्रिय सहभागिताका लागि अपिल गरेका छन्।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै कांग्रेसको आधिकारिक कार्यसमिति भएको दाबी गर्दै आएको छ। यही कारण संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा उक्त समूह सहभागी भएको छैन।



















प्रतिक्रिया