Logo

समाचार

वन्यजन्तुको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर भयो: सांसद थेबे



काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती क्षेत्रका बासिन्दाले विभिन्न समस्या भोगिरहेको भन्दै त्यसको तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेबेले मध्यवर्ती क्षेत्रका कारण स्थानीय बासिन्दाले घर मर्मत गर्न तथा आफ्नै जग्गामा टहरा निर्माण गर्नसमेत नपाउने अवस्था रहेको बताए ।

उनले भने, ‘आज मध्यवर्ती क्षेत्रको कारण त्यहाँको जनताले आफ्नो घर भत्किँदा टाल्न पाएको छैन । आफ्नो जग्गामा एउटा टहरा हाल्न पाएको स्थिति छैन । दैनिक जनजीवन पूर्ण सङ्घर्षमय छ । साँझ भयो, जङ्गली जनावरले घरपालुवा भेडाबाख्राहरू खाइदिने डर । अझ साँझको समय आवतजावत गर्नु पनि त्यत्तिकै कष्टकर । पटक–पटक चित्तलसँग ठोक्किएर भएको दुर्घटना र बर्सेनि भएको मृत्यु अत्यन्त कहालीलाग्दो छ ।’

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयको दैनिक जनजीवन वन्यजन्तुको जोखिमका कारण कष्टकर बनेको उनले बताए । साँझको समयमा आवतजावत गर्नसमेत समस्या हुने तथा वन्यजन्तुका कारण घरपालुवा पशुचौपायामा क्षति पुग्ने गरेको उनले बताए ।

सांसद थेबेले चित्तललगायत वन्यजन्तुसँग ठोक्किएर हुने सवारी दुर्घटना तथा त्यसबाट हुने मानवीय क्षतिको समस्या पनि गम्भीर रहेको उल्लेख गरे ।

उनले मध्यवर्ती क्षेत्रका कारण स्थानीय बासिन्दालाई दैनिक जीवन सञ्चालन गर्न मात्र नभई विकास निर्माण तथा प्राकृतिक स्रोतको उपयोग गर्नसमेत कठिनाइ भइरहेको बताए । स्थानीय बासिन्दाले समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि ठोस पहल हुन नसकेको सांसद थेबेले बताए । यो विषय अघिल्लो प्रतिनिधिसभामा समेत पटक–पटक उठाइएको उनले उल्लेख गरे ।

हेटौंडा र मनहरी गाउँपालिकाका बासिन्दाले भोग्दै आएको समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्दै उनले मध्यवर्ती क्षेत्र हटाउने स्थानीयको मागबारे समेत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार १२:०२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।