Logo

कृषि

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी



रुपन्देही । सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउँदै कृषि उत्पादनलाई दिगो बनाउन जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउन किसानलाई आग्रह गरेकी छन्।

लुम्बिनी प्रदेशस्तरीय अनुदानित मल वितरण सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको गुणस्तरमा असर पार्ने भएकाले माटो सुधारलाई प्राथमिकतामा राखेर कृषि नीति तथा कार्यक्रम अघि बढाइने बताइन्।

उनले विगतमा किसानले गोठको मल तथा घरबाट निस्कने कुहिने जैविक फोहर खेतबारीमै प्रयोग गर्ने गरेको उल्लेख गर्दै अहिले स्थानीय तहले फोहर व्यवस्थापनका क्रममा जैविक फोहरसमेत डम्पिङस्थलमा लैजाने गरेको बताइन्।

‘प्लास्टिक फोहर व्यवस्थापन आवश्यक भए पनि जैविक पदार्थलाई छुट्याएर मलका रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भनिन्।

अन्तर्राष्ट्रियस्तरमा सामान्य समस्या आउँदा पनि नेपालमा रासायनिक मलको आपूर्तिमा समस्या देखिने गरेको उल्लेख गर्दै मन्त्री चौधरीले स्वदेशमै रासायनिक तथा जैविक मल उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार देशको मल आवश्यकता, उपलब्धता र उत्पादन क्षमताको यथार्थ तथ्यांक तयार गरी दीर्घकालीन व्यवस्थापनको योजना बनाउन सरकार लागिरहेको छ।

मन्त्री चौधरीले रासायनिक मलको सन्तुलित वितरणका लागि स्थानीय तह, प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी अनुगमन गर्नसमेत आग्रह गरिन्।

किसानले आवश्यक परेको समयमा मल पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने भन्दै उनले मल वितरणमा कुनै किसिमको कमजोरी हुन नदिन निर्देशन दिइन्।

सरकारको प्राथमिकता नीति निर्माणलाई समयानुकूल बनाउनु रहेको उल्लेख गर्दै उनले कृषि सामग्री तथा मल वितरणमा पारदर्शिता कायम गर्नुपर्ने बताइन्।

उनका अनुसार हालसम्म करिब २७ लाख किसान कार्डका लागि सूचीकृत भइसकेका छन्। उनले बाँकी किसानलाई पनि किसान कार्डका लागि सूचीकृत हुन आग्रह गरिन्।

कार्यक्रममा स्थानीय तहका कृषि शाखा प्रमुख तथा कर्मचारी, मल विक्रेता र किसान सहभागी थिए। सहभागीबीच अनुदानित मल वितरण प्रणालीमा देखिएका समस्या, डिजिटल सूचना प्रणालीको कार्यान्वयन तथा कृषि क्षेत्रमा आवश्यक सुधारका विषयमा छलफल भएको थियो।

 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार १९:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।