काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संघीय संसद् कुनै पनि हिसाबले कमजोर नभएको बताएका छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद् सशक्त र प्रभावकारी रूपमा सञ्चालन भइरहेको दाबी गरे।
सभामुख अर्यालले संसद्मा सांसदहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्नु सान्दर्भिक नहुने बताए। ‘संघीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला,’ उनले भने, ‘तर संसद् कमजोर भएको महसुस मैले गरेको छैन।’
उनले संसद् आफ्नो मर्यादा र जिम्मेवारीअनुसार कार्यशैली तय गरेर अघि बढ्ने बताए। ‘तीन करोड नेपालीका लागि काम गर्ने भनेर आएका तपाईं–हामी निरन्तर खटिरहेका छौं,’ उनले भने।
सभामुख अर्यालले व्यवस्थापिकाका सांसद, नागरिक र पत्रकारलगायत सबैले कार्यपालिकालाई जिम्मेवार बनाउन झकझक्याउने भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले आगामी संसद् अधिवेशन राष्ट्रियसभा र प्रतिनिधिसभाको नयाँ भवनबाट सञ्चालन हुने विश्वाससमेत व्यक्त गरे। ‘राष्ट्रियसभा होस् या प्रतिनिधिसभा, नयाँ भवनबाट सञ्चालन हुन्छ भन्नेमा म विश्वस्त छु,’ उनले भने।



















प्रतिक्रिया