Logo

विविध

पोखरा विश्वविद्यालयको १ अर्ब ७५ करोड ८० लाखको बजेट पारित



कास्की । पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ।

पोखरा–३०, ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभाले उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले प्रस्तुत गरेको बजेट स्वीकृत गरेको हो।

विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

सभाले विश्वविद्यालयको विद्यमान नियमावलीमा आवश्यक संशोधन गर्दै मानविकी तथा सामाजिक शास्त्र संकायलाई पुनर्गठन गरी ‘मानविकी, सामाजिक शास्त्र तथा कानुन संकाय’ स्थापना गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा विस्तार गरिएको निर्णय अनुमोदन गरिएको छ। बीई मेकानिकल, बीआईसीए, बीबीए फाइनान्सलगायत विभिन्न कार्यक्रमको उपाधि निर्धारण तथा विशेष मौका परीक्षा सञ्चालन गर्नेसमेत सभाले स्वीकृति दिएको छ।

सभालाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालयहरूले आफ्नो विशिष्टताका आधारमा छुट्टै पहिचान निर्माण गर्नुपर्ने बताए। गण्डकी प्रदेशको सम्भावनालाई ध्यानमा राख्दै पोखरा विश्वविद्यालयले साहसिक पर्यटनलगायत नयाँ क्षेत्रमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

परीक्षा र नतिजा समयमै प्रकाशन गर्न, छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गर्न तथा विद्यार्थीबाट लिइने शुल्कअनुसार प्रयोगशाला, पुस्तकालयलगायत शैक्षिक सुविधा सुनिश्चित गर्न उनले विश्वविद्यालय प्रशासनलाई निर्देशन दिए।

नयाँ नीति तथा कार्यक्रममार्फत विश्वविद्यालयले डिजिटल सेवा विस्तार, गुणस्तरीय शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन र रोजगारमुखी शिक्षालाई प्राथमिकता दिँदै शैक्षिक तथा प्रशासनिक प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको छ।

 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार २०:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।