Logo

समाचार

चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चाडपर्वका समयमा यात्रुसँग तोकिएको भाडाभन्दा बढी रकम नलिन यातायात व्यवसायी तथा कर्मचारीलाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वलक्षित यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले यातायात व्यवस्था विभागले तोकेको भाडादरअनुसार मात्रै टिकट बिक्री गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘विभिन्न नागरिक सहायता कक्षहरूमा, विभिन्न ठाउँमा १५ स्थानमा नागरिक सहायता कक्ष राखिँदैछन् । त्यो ठाउँमा तपाईंहरूले तोकिएको भाडाभन्दा म अहिले मैले अनुरोध गर्न चाहन्छु, तोकिएको भाडाभन्दा कसैले पनि एक रुपैयाँ पैसा बेसी नलिइदिनको लागि म विशेष आग्रह गर्न चाहन्छु।’

उनले यसपटकको चाडपर्वमा सडकको अवस्था विगतको भन्दा कठिन रहेको बताए। भोटेकोशीमा आएको बाढी तथा देशका विभिन्न क्षेत्रमा भएको प्राकृतिक विपद्का कारण राजमार्गहरूमा यात्रा कठिन बनेको उनको भनाइ छ ।

‘भोटेकोशीको कालीलाग्दो बाढीले देश अहिले अस्तव्यस्त अवस्थामा छ,’ उनले भने, ‘काठमाडौंको नागढुङ्गा, बल्खु हुँदै बीपी राजमार्ग, अरनिको राजमार्ग, पासाङ ल्हामु राजमार्ग लगायत सबै राजमार्गहरूमा निकै गाह्रो गरी यात्रा गर्नुपर्ने अवस्था छ।’

उनले चाडपर्वका समयमा यात्रुवाहक सवारीसाधनलाई सडकमा प्राथमिकता दिनुपर्ने मागसमेत गरे । निजी सवारीसाधनभन्दा सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्न उनले आग्रह गरे ।

उनले राजमार्गमा हुने अनावश्यक चेकजाँचलाई व्यवस्थित बनाउन पनि सुरक्षा निकायको ध्यानाकर्षण गराए । काठमाडौंबाट कुनै गन्तव्यका लागि हिँडेको सार्वजनिक सवारीलाई निश्चित स्थानमा जाँच गरी आवश्यक विवरणसहित पठाउने र बाटोमा अनावश्यक रूपमा पटक–पटक चेकजाँच नगर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘यहाँबाट हिँडेको सवारीलाई एकपटक नागढुङ्गामा या कोटेश्वरमा चेक गरेर एउटा चिर्कटो दिएपछि त्यो गाडी स्वतः रूपमा पोखरा पुग्नुपर्छ, त्यो गाडी बाग्लुङ पुग्नुपर्छ, त्यो गाडी झापा पुग्नुपर्छ,’ उनले भने, ‘कुनै गाडी शङ्का लाग्यो भने जुनसुकै ठाउँमा पनि सुरक्षा निकायले चेक गर्न पाउँछ । तर झन्झटिलो भयो भने समयमा गाडी काठमाडौं आइपुग्दैन, समयमा गाडी गन्तव्यमा पुग्दैन।’

उनले चाडपर्वका समयमा यात्रु, चालक, सहचालक, कर्मचारी, व्यवसायी तथा सुरक्षाकर्मी सबैले संयमित भएर काम गर्नुपर्ने बताए । विगतमा सडक अवरुद्ध हुँदा यात्रुहरू दुई दिनसम्म बसमै बस्नुपरेको अवस्था स्मरण गर्दै त्यस्तो अवस्था दोहोरिन नदिन सबै पक्ष सचेत हुनुपर्ने उनले बताए ।

उनले चाडपर्वका समयमा स्वयंसेवक परिचालन गरी सार्वजनिक सवारीको आवागमन सहज बनाउन स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरे । विशेषगरी धादिङलगायतका सडकखण्डमा स्थानीय स्वयंसेवक परिचालन गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

उनले टिकट काट्दा यात्रुले पनि टिकटमा उल्लेख भएको गन्तव्य र मिति राम्रोसँग जाँच गर्न आग्रह गरे । अनधिकृत व्यक्तिबाट टिकट नकिन्न यात्रुलाई आग्रह गर्दै उनले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिनुपर्ने बताए ।

उनले चालक तथा कर्मचारीलाई यात्रुसँग राम्रो व्यवहार गर्न आग्रह गरे। ‘अहिले तपाईंहरू लाग्ने कुनै किसिमको बार्गेनिङ नगरिकन तपाईंहरूले बकाइदा टिकट काउन्टरमा बस्दा साह्रै राम्रो बोली बोलिदिनुहोला, कसैसँग नरिसाइदिनुहोला,’ उनले भने ।

उनले केही दिनमै यातायात व्यवस्था विभाग र सरकारसँग छलफल गरी अग्रिम टिकट बुकिङ खुलाउने विषयमा निर्णय गरिने जानकारी दिए । उनका अनुसार महासंघका पदाधिकारीले शनिबार बिहान ९ बजे यातायात कर्मचारी तथा सम्बन्धित पक्षलाई चाडपर्वको तयारीसम्बन्धी प्रशिक्षण दिनेछन् ।

उनले सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि अपुष्ट सूचना सम्प्रेषण नगर्न आग्रह गरे । कालोबजारी भएको पाइएमा भने त्यसमा कुनै सम्झौता नहुने उनले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार २०:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।